काठमाडौं । नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ गते नेपाल आउने भएका छन् ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार भारतीय सेनापति भदौ १९ देखि २३ सम्म नेपाल भ्रमणमा रहनेछन्। भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ।
पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवीबाट विभूषित गर्ने कार्यक्रम छ ।
सन् १९५० यता नेपाली सेना र भारतीय सेनाका प्रमुखबीच एकअर्काको देशमा गएर मानार्थ प्रधानसेनापतिको पदवी लिने परम्परा रही आएको छ।
सन् १९५० मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएपछि तत्कालीन भारतीय सेनापति केएम करिअप्पा पहिलोपटक नेपालमा मानार्थ प्रधानसेनापतिको पदवी लिन आएका थिए।
त्यसयता २१ जना भारतीय सेनाका प्रमुख मानार्थ प्रधानसेनापतिको पदवी लिन नेपाल आइसकेका छन्। त्यसैगरी त्यस अवधिमा नेपालका १७ जना सेनापति मानार्थ प्रधानसेनापतिको पदवी लिन दिल्ली गएका छन्।
भारतीय प्रधानसेनापति पाण्डेको भ्रमणमा नेपाली पक्षले हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म भारतलाई तिर्नुपर्ने करिब चार अर्ब रुपैयाँ बक्यौता रकम मिनाहा गर्न नेपालले आग्रह गर्ने बताइएको छ । पाण्डेको भ्रमणका एजेण्डाबारे छलफल भइरहेको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।