प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–१ खालस्थित प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिले गाउँ समाजको स्वतन्त्र निर्णयलाई अनावश्यक राजनीतिकरण नगर्न आग्रह गरेको छ ।
सामुदायिक वन समितिले स्थानीय वीरबहादुर पुनलाई वनसमितिको निर्णय अटेरी गरेका कारण गरिएको कारबाहीलाई राजनीतिकरण गरिएको भन्दै आपत्ति जनाएको छ ।
‘नेकपा (मसाल) जिल्ला समन्वय समिति प्युठान’ को तर्फबाट स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज रानालाई जोडेर विज्ञप्ति निकालिएको भन्दै वन समितिले आपत्तिसमेत जनाएको छ । सामुदायिक वन समितिले आफ्नै नियम र परम्पराअनुसार वीरबहादुर पुनलाई कारबाही गरिएको र त्यसमा उपमेयर रानाको कुनै भूमिका नरहेको पनि स्पष्ट पारेको छ ।
वन समितिले प्रेसित गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सामुदायिक वन अन्तर्गत धैरेनी पाखा वनमा गाई बाख्राको बेथितीको विवाद समाधान गर्न समिति र उपभोक्ताहरुबीच मिति २०७९ श्रावण १७ गतेदेखि चरणबद्ध छलफल भएको हो । विवादलाई टुंगो लगाउने उद्देश्यले गाउँघरमा चलिआएको परम्परा रितीथिति अनुसार उपस्थित जनसमुदायबीचमा सर्वसम्मत रुपमा आगो पानी छुवाउने निर्णय भएको हो ।श्रावण २१ गतेको अन्तिम निर्णयलाई वीरबहादुर पुनले अटेरी गरेपछि निजलाई विभिन्न कोषहरुको रकमबाट बञ्चित गराउण्ने निर्णय कारबाहीस्वरुप समेत भएको हो ।’
वन समितिले उक्त विषयलाई लिएर राजनीतिक दलले विज्ञप्ति नै जारी गरेर स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको चरित्र हत्या गर्न खोजेको तथा विभिन्न अनलाइनमा भ्रामक समाचार प्रकाशित गरिएको भन्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेको हो ।
