काठमाडौं । सप्तरीमा तस्करीको सामान नियन्त्रणमा लिन गएको प्रहरीमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधव प्रसाद काफ्लेका अनुसार तस्करको ढुंगामुढामा परेर तीन प्रहरी घाइते भएका छन् ।
तस्करको ढुंगामुढाबाट प्रहरी सायक हवल्दादर शिवशंकर साह, प्रहरी जवानद्वय अनिलकुमार बस्नेत र विषण कुमार मिश्र घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको र अवस्था समान्य रहेको तथा घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बलान बिहुल गाउँपालिका–४ बेल्हीका घुरन साहको घरमा जम्मा गरिएको तस्करीको सामान बरामद गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो ।
भारतबाट भन्सार छलि तस्करी गरी इलेक्टीक समान र कपडा स्थानीय घुरन साहको घरमा राखिएको भन्ने सूचना आधारमा खानतलासी गर्न पुगेका प्रहरीमाथि आक्रमण भएको डिएसपी काफ्लेले बताउनुभयो ।
पेस्तोल बरामद
सप्तरीबाट आज पेस्तोल बरामद भएको छ । सप्तरीको राजगढ गाउँपालिका–२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल ६ नं गण हेड क्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयो ।
यस्तै जेठ ५ गते सप्तरीको हनुमाननगर कङ्कालिनीनगरपालिका–१ भारदहस्थित कोसी नदीको किनारबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित सोही ठाउँका २६ वर्षीय रञ्जित मण्डललाई पक्राउ गरेको थियो । प्रहरीले सुरक्षाको प्रत्याभूति गर्न विशेष जाँच अभियान चलाएको छ ।