पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनमोर्चाको सरकार सञ्चालन गर्ने चारदलीय गठबन्धनसँग जनमोर्चाको सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको छ ।
विभिन्न सञ्चारमाध्यममा ‘पाँचदलीय सत्तागठबन्धन’ भनेर आउने समाचारहरुप्रति अध्यक्ष केसीको यस्तो टिप्पणी आएको हो ।
राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रममा अध्यक्ष केसीले भन्नुभयो, ‘राष्ट्रिय जनमोर्चा सरकार सञ्चालन गर्ने गठबन्धनमा छैन । हामीले सरकारमा सामेल चार दलले ल्याएका राष्ट्रघाती एमसीसी, नागरिकता विधेयक जस्ता एजेण्डामा विपक्षमा मतदान गरेका छौँ ।’
उहाँले राजमो प्रतिगमनविरुद्धको एजेण्डामा मात्रै सत्तारुढ दलहरुसहितको पाँच दलीय गठबन्धनमा सामेल भएको पनि स्पष्ट पार्नुभयो ।
‘पाँच दलीय गठबन्धन केपी ओलीको प्रतिगमनविरुद्ध बनेको हो । त्यही एउटा एजेण्डामा हामी पाँच दलीय गठबन्धनमा सामेल भएका हौँ’ केसीले भन्नुभयो, ‘प्रतिगमनको खतरा अहिले पनि कायमै रहेकाले आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।’
अध्यक्ष केसीले पार्टी सरकार र सत्ता गठबन्धनमा नभएकैले आफ्ना प्रष्ट एजेण्डासहित जनतामा जान सकेका छ भन्नुभयो । उहाँले राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी, एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती सम्झौताहरुको खारेजी, नागरिकता विधेयक खारेजीलगायतका एजेण्डासहित जनतामा जाने पनि स्पष्ट पार्नुभयो ।
तत्कालिन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि प्रतिगमनको खतरा औँल्याउँदै पाँच राजनीतिक दलले ओलीविरुद्ध गठबन्धन गरेका थिए । जसमा राजमो सामेल भएको थियो । तर, कांग्रेस नेतृत्वमा सरकार बनेपछि विवादित एमसीसी पास गरेका कारण राजमो गठबन्धनबाट बाहिरिएको थियो ।
सरकार बाहिर रहेको राजमोले सरकारले ल्याएका जनविरोधी नीतिको विरोध गर्दै आएको छ । यद्यपी राजमोले निर्वाचनका लागि गठबन्धनसँग सहकार्य गरेको छ ।

राष्ट्रिय जनमोर्चाले समसामयिक राजनीतिक परिस्थिती, प्रतिगमन र राष्ट्रियता, प्रदेश र राष्ट्रिय सभाको चुनाव तथा प्रदेशको सांगठनिक अवस्था लगायतका विषयमा सोमबार (भदौ ६ गते) गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन गरेको हो । प्रशिक्षणमा बागलुङबाहेक प्रदेशका सबै जिल्लाबाट नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
बागलुङमा यसअघि यिनै विषयमा ३ र ४ गते प्रशिक्षण सञ्चालन गरिएको थियो ।
पोखरामा आयोजित प्रदेशस्तरको प्रशिक्षणमा महासचिव मनोज भट्ट, पूर्वसचिव कृष्ण अधिकारी, नेता अमरबहादुर थापा, प्रदेश सांसदद्वय पियारी थापा र खिमविक्रम शाही लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रविमोहन ढकाल र स्वागत राजेन्द्र गैरेले गर्नुभएको थियो ।