काठमाडौँ । नेकपा (मसाल) ले नेपाली काङ्ग्रेसका बौद्धिक व्यक्तित्व प्रदीप गिरीको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्दै त्यसबाट नेपालको प्रजातान्त्रिक आन्दोलनलाई धेरै नै क्षति पुगेको बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ भदौ ५ गते जारी शोकवक्तव्यमा श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार जनप्रति समवेदना प्रकटसमेत गरिएको हो ।
यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :
“नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीको निधनका लागि हामीलाई धेरै दुःख लागेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको महत्त्वपूर्ण भूमिका रहँदै आएको थियो । हामीले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गर्न चाहान्छौँ ।
प्रदीप गिरीसँग मेरो पनि नजिकको सम्बन्ध रहेको थियो । कतिपय प्रशिक्षण कार्यक्रममा उहाँ र म सँगै सहभागी हुने अवसर पनि मलाई प्राप्त भएको थियो । उहाँको उच्च स्तरको बौद्धिक क्षमताबाट म धेरै नै प्रभावित भएको थिएँ । उहाँ समाजवादप्रति आस्था राख्ने एउटा उच्च स्तरको व्यक्तित्व पनि हुनुहुन्थ्यो । त्यसरी उहाँको निधनबाट नेपालको प्रजातान्त्रिक आन्दोलनलाई धेरै नै क्षति पुगेको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ ।”