काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान काठमाडौँको दोस्रो भेला सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष हेमराज आश्रमको प्रमुख आतिथ्यमा २०७९ भदौ ४ गते राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवन कपनमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले मेस्मा पुन अध्यक्ष रहनुभएको रक्तिमको काठमाडौँ जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रामअन्जन परियार, सचिवमा भूपाल पुन र कोषाध्यक्षमा पूजा बेलबासे तथा सदस्यहरूमा राजेन्द्र केसी, युजिन श्रेष्ठ, सुशीला बन्जाडे, अङ्कित चुँदाली, विनिता बुढा, कविता चौधरी, हेमराज आश्रम र समष्टि बुढा रहनुभएको छ ।
भेलाले दिनेश सापकोटा र समीक्षा श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।
भेलामा मन्तव्य राख्दै रक्तिमका उपाध्यक्ष हेमराज आश्रमले आगामी चैत महिनामा रुपन्देहीको बुटवलमा चौथो राष्ट्रिय सम्मेलन आयोचना गरिएको जानकारी दिनुभयो । उहाँले सोही सिलसिलामा देशैभरि रक्तिमको सङ्गठनात्मक अभियानले तीव्रता पाएको बताउनुभयो ।
वामपन्थी नेता आनन्द शर्माले भेलामा सम्बोधन गर्दै जनतामा नेकपा (मसाल) को राजनीति पुर्याउने पहिलो सङ्गठन रक्तिम सांस्कृतिक अभियान भएको बताउँदै त्यसको गरिमालाई क्रान्तिकारी धारमा राख्न सबैले काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्माले नेकपा (मसाल) को क्रान्तिकारी विचार र रक्तिमका सांस्कृतिक प्रस्तुतिको संयोजनबाट नेपालमा क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, केन्द्रीय सदस्य तारा क्षेत्री, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन र नेकपा (मसाल) ३ नं. प्रदेश प्रवक्ता समीर सिंहले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा राजमो केन्द्रीय सदस्य लालबहादुर थापा, जातीय समता समाजका महासचिव भक्त विक, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का महासचिव प्रकाश थापामगर, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का कोषाध्यक्ष राजेन्द्र पुडासैनी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार रमेश पौडेल, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मी, राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा रक्तिमका केन्द्रीय कलाकार हरि सर्तुङी उपचाररत रहेकोमा केही रकम हस्तान्तरण गरिएको थियो ।
मेस्मा पुनको अध्यक्षता तथा धु्रव बस्यालको सञ्चालनमा अघि बढेको उक्त भेलामा उपस्थित जनसमुदायलाई पूजा बेलबासेले स्वागत गर्नुभएको थियो ।


