काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले नागकिरता विधेयक खारेज गर्नुपर्ने माग दोहोर्याउनुभएको छ ।
राष्ट्रिपति विद्यादेवी भण्डारीले संसदमा सुझावसहित फिर्ता पठाइदिएको नागरिकता विधेयकमाथि बिहीबार धारणा राख्दै सांसद पौडेलले सो विधेयक खारेज गर्न जोड दिनुभएको हो ।
उहाँले संसदले गरेका गल्ती औँल्याएर त्रुटी सच्याउने मौका दिएकोमा राष्ट्रपतिको कदमलाई स्वागत पनि गर्नुभयो ।
पौडेलले प्रतिनिधिसभामा धारणा राख्दै भन्नुभयो, ‘सम्माननीय राष्ट्रपतिज्यूले आफ्नो संवैधानिक अधिकारलाई प्रयोग गर्दै त्यहाँभित्र भएको त्रुटीप्रति सदनले छलफलमा ल्याओस् भनेर केही सुधार गरेर लैजानुपर्छ भन्ने सुझावसहित फिर्ता पठाउनुभएको छ त्यसको लागि राष्ट्रिपतिजीलाई धन्यवाद दिँदै उक्त कदमलाई स्वागत गर्न चाहन्छु ।’
यस्तै उहाँले राष्ट्रिय जनमोर्चाले संविधान घोषणा गर्दाखेरी नै नागरिकतासम्बन्धी आफ्नो धारणा स्पष्ट गर्दै संशोधन राखेको पनि स्मरण गर्नुभयो । सांसद पौडेलले विदेशबाट विवाह गरेर आउँदैमा कोही नागरिकताका लागि योग्य नहुने पनि स्पष्ट पार्नुभयो ।
‘विवाह गर्दैमा नागरिकता प्राप्त गर्न योग्य भयो भन्ने कुरा दुनियाँको कुनै पनि कुनामा जानुस् कुनै कानुनले, कुनै पनि सिद्धान्तले त्यसलाई स्वीकार गर्दैैन’ पौडेलले भन्नुभयो, ‘हामीले यो चिजलाई स्पष्टसँग बुझ्न जरुरी छ । नागरिकता देशको अखण्डता, राष्ट्रियतासित जोडिएको विषय हो । त्यसैले यसमा गम्भीर हुन जरुरी देखिन्छ ।’
पौडेलले नेपाली नागरिकले नागरिकता पाउन कहिँ असहज अवस्था भएमा त्यसमा गम्भीरतापूर्वक छलफल गरेर बाधा हटाउनुपर्नेमा जोड दिँदै तर विदेशीका लागि नागरिकता खुकुलो बनाउन नसहिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली नागरिकले नागरिकता पाउनैपर्छ । त्यसमा केही विधि प्रक्रिय सुधार गर्नुपर्ने छ भने सुधारौँ । त्यसका लागि बिस्तृत रुपमा छलफल गरौँ, त्यसमा दुईमत होइन । तर, यस्तो खुला सिमाना भएको देशमा विवाह गरेकै आधारमा नागकिरता प्राप्त गर्न योग्य भयो भनेर छोडदियौँ भने हामी फिजी हुने खतरा बढेर जानेछ ।’
यस्तै, उहाँले जन्मका आधारमा मात्रै कोही पनि नेपाली नागरिक बन्न योग्य नहुने र विदेशबाट विाह गरेर आउनेका लागि निश्चित समयावधि तोक्नैपर्ने बताउनुभयो ।
‘जन्मको आधारमा नागरिकता वितरण गर्ने सैद्धान्तिक आधार के हो ? कुन विधिका आधारमा हामीले नागरिकता वितरण गर्दैछौँ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘कुनै पनि देशमा हेर्नुभयो भने नागरिकता पाउने निश्चित विधि र समय राखेको हुन्छ । हाम्रो पनि छ । अंगीकृत नागरिकता प्राप्त हुने विधि पनि छ र वंशजको नागरिक हुने विधी पनि छ । त्यसकारण ती विधिहरुको प्रयोग गर्दै जाँदा वास्तविक नागरिकले नागरिकता पाउन कहीँ कमी छ भने त्यसलाई सुधार गर्न सकिन्छ । जन्मको आधारमा र वैवाहिक आधारमा नागरिकता दिन सकिँदैन त्यसैले यो नागरिकता विधेयकलाई खारेज गरेर जानुपर्छ ।’
सांसद पौडेलले नेपाली चेली विदेश विवाह गरेर जाँदा निश्चित समयपछि मात्रै नागरिकता पाउने प्रक्रिया सुरु हुने स्पष्ट पार्दै विदेशबाट विवाह गरेर नेपालमा आउनासाथ नागरिकता दिनुपर्ने बाध्यता के हो भनी प्रश्न पनि गर्नुभयो । उहाँले संसदमा पेश भएको नागरिकता विधेयक अघि खारेज गर्न पनि माग गर्नुभयो ।
पौडेलले भन्नुभयो, ‘हामीसँग छिमेकी देशले कुन व्यवहार गर्छ, हामीले पनि त्यही व्यवहार गरौँ । हाम्रा नेपाली चेलीलाई विवाह गरेर लैजाने छिमेकी देशहरुले कुन प्रकारको व्यवहार गरेका छन् ? त्यसैले वैवाहिक अंगीकृत नागरिकताका लागि निश्चित समय सात वर्ष तोकेरै जानुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ र यो नागरिकता विधेयक खारेज हुनुपर्छ ।’
प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको विवादित नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले गत साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ गते आइतबार संसदमै फिर्ता गरिदिनुभएको थियो ।
सत्तारुढ दलहरुको हिजो (भदौ १ गते) बसेको बैठकले सो विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गर्ने निर्णय गरेर आज सरकारले संसदमा अघि बढाएको हो ।





