काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु ब्रिग्रिएको स्वीकार गर्नुभएको छ । माओवादी अब हिजोको जस्तो क्रान्तिकारी नभएको प्रचण्डको स्वीकारोक्ति छ ।
जनयुद्दका सहिद रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरु आत्मकेन्द्रित र स्वार्थी भएको टिप्पणी गर्नुभयो ।
‘हामी अलिकति बिग्रिएका छौं। हिजोको जस्ता क्रान्तिकारी छैनौं। ब्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थी भएका छौं,’ प्रचण्डले भन्नुभयो, ‘हामीले प्रतिस्पर्धा गरेर त्याग गर्नेतिर भन्दा पनि आफैंतिर कसरी बलियो बन्ने भन्नेतिर लागेका छौं।’
उहाँले माओवादीको भनाइ र गराइमा अन्तर रहेको बताउँदै प्रचण्डले क्रान्तिकारी विचारमा स्खलन आएको बताउनुभयो ।
‘स्वार्थ समूह बनाउनेतिर उद्दत हुन थालेका छौं। यसले क्रान्तिकारी विचारमा स्खलन आएको छ’ प्रचण्डले सम्बोधनको क्रममा भन्नुभयो, ‘कुरा गर्दा मुखमा त क्रान्तिकारी नै छौं तर ब्यवहार र दैनिकी मिल्दैन। भनाई र गराईमा ठूलो अन्तर आइसकेको महसुुस हुन्छ।’
सामुहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गर्दै प्रचण्डले नेताहरुको मुखमा क्रान्तिकारी रहेपनि व्यवहार, आचरण, दैनिकीमा नरहेको टिप्पणी गर्नुभयो ।
क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिष्पर्धा गरेर त्याग गर्नेतिर नभई आफ्नै निम्ति कसरी गर्ने भन्ने तिर उद्धत हुन थालेको प्रचण्डको भनाई छ।