काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले उपेन्द्र यादवको संविधान संशोधनको प्रयास असफल पारेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यबाद दिएको छ । संविधान संशोधन गर्ने सहमतिसहित सरकारमा आएको तत्कालिन संघीय समाजवादी फोरम आफ्नो प्रयास असफल भएपछि मंगलबार सरकारबाट बाहिरिएको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले मंगलबार साँझ एक वक्तव्य प्रकाशित गरी यादवको संविधान संशोधनको प्रयास राष्ट्रघाती रहेको भन्दै त्यसलाई अस्विकार गरेर प्रधानमन्त्री ओलीले सही कदम चालेको बताउनुभएको छ । यसरी नै राजपाको प्रयास पनि असफल पार्न महामन्त्री सिंहले आग्रह गर्नुभएको छ ।
संविधान संशोधन देशको आवश्यकता अनुसार गर्नुपर्ने भन्दै मसालले राष्ट्रघाती प्रकारका कुनै पनि संशोधनको प्रस्तावलाई स्वीकार नगर्न सरकारसँग आग्रह गरेको छ ।
यस्तो छ वक्तव्य
संविधानमा संशोधन गर्ने सहमति सहित उपेन्द्र यादवलाई सरकारमा सामेल गरेकोमा त्यो बेला नै हामीले ओली सरकारको कडा आलोचना गरेका थियौँ । आवश्यकतानुसार संविधानमा संशोधन गर्ने कुरामा हाम्रो कुनै मतभेद छैन । संविधानमा त्यसरी संशोधन गर्दै जानु पनि पर्दछ । तर मधेशवादीहरूले जसरी संविधानमा संशोधन गर्न खोजेका छन्, ती राष्ट्रघाती प्रकारका छन् । त्यसैले हामीले उपेन्द्र यादवसँग संविधानमा संशोधन गर्ने जुन सहमति गरिएको थियो, त्यसको विरोध गरेका थियौँ ।
अहिले संविधानमा संशोधनको त्यो सहमतिलाई कार्यान्वयन नगरेको भनेर उपेन्द्र यादवले सरकारबाट राजिनामा दिएका छन् । थाहा भएअनुसार, त्यसबारे उपेन्द्र यादवले मन्त्रीमण्डलमा लगेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए । त्यसका लागि हामीले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिन्छौँ । हामीले आशा गर्दछौँ त्यही प्रकारले राजपाले संविधानमा संशोधनका लागि गर्ने कुनै पनि प्रकारको दवावलाई पनि उनले अस्वीकार गर्दै जानेछन् ।