काठमाडौं । उत्तरी छिमेकी चीनले सीमा वारपार रेलको सम्भाव्यता अध्ययनका लागि नेपालमा विज्ञ टोली पठाउने भएको छ ।
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग चिनियाँ समकक्षी वाङ यीले सो प्रतिवद्धता जनाएका हुन् ।
परराष्ट्रमन्त्री नारायण खड्का र वाङबीच बुधबार भएको छलफलमा उक्त सहमति भएको चिनियाँ परराष्ट्र मन्त्रालयले जनाएको छ।
‘सीमापार रेलको सम्भाव्यता अध्ययन गर्न चीनले खर्च बेहोर्ने सहमति भएको छ। सन् २०२२ भित्र चीनले रेलको सर्वेक्षण गर्न विज्ञ टोली पनि खटाउनेछ’ बेइजिङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने।
बुधबार भएको द्वीपक्षीय वार्तामा वाङ्ले केरुङ—रसुवागढी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान दिने बताएका थिए । त्यसअघि गत चैत दोश्रो साता वाङ नेपाल आउँदा दुई देशबीच रेलको सम्भाव्यता अध्ययनका लागि प्राबिवधिक सहयोग सम्झौतमा हस्ताक्षर भएको थियो ।
नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्क (ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क) निर्माण गर्ने सहमति भएको छ । उक्त नेटवर्क चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणा (बिआरआई) को एक अंग हो ।