काठमाडौं । काठमाडौंको मनोहरा नगरपालिका ७ मा रहेको ओसिएन ड्रिंकिङ वाटर इन्डस्ट्रिजले बजारमा पठाएको प्रशोधित पानी (जार) मा किरा भेटिएपछि सो सम्बन्धमा समाचार संकलन लागि पुगेका पत्रकारमाथि सञ्चालकले हातपात गरेका छन् ।
नेपाल पत्रकार महासंघले पानी उद्योगका सञ्चालकले स्पेस फोके टेलिभिजनमा कार्यरत पत्रकार नरेन्द्र महतारा र सुरेन्द्र राउतलाई समाचार संकलनमा रोक लगाई हातपातसमेत गरेको भन्दै भर्त्सना गरेको छ।
महासंघका अनुसार साउन २५ गते बुधबार मनोहरा नगरपालिका ७ मा रहेको उक्त उद्योगमा समाचार संकलनका लागि दिउँसो २ः०० बजेतिर पुगेका पत्रकारद्वयलाई नेपाल बोटल वाटर उद्योग संघका केन्द्रीय अध्यक्ष ध्रुव गौतमसहित आएको एक समूहले उद्योग परिसरबाट जबर्जस्ती बाहिर निकाल्नुका साथै हातपातसमेत गरेका थिए ।
‘बजारमा पठाइएको पानीमा देखिएको समस्याबारे बुझ्न र सोबारे नागरिकलाई सुसूचित र सचेत गराउन जुटेका पत्रकारमाथि गरिएको यो हर्कत प्रेस स्वतन्त्रताविरोधी कार्य हो’ सचिव गोविन्दप्रसाद चौलागाईलाई जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ । र, घटनामा संलग्नमाथि कानुनी कारबाही गरी पत्रकारको संवैधानिक अधिकार र स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’