हेम बिजी
निकै सस्तोमा लिलाम हुँदैछ नागरिकता
फर्सीको दाम भन्दा पनि सस्तो
आलुको भाउ भन्दा पनि सस्तो
सायद
यति सस्तो नागरिकता
अरु कुनै देशमा नहोला
जहाँ हाम्रो देशमा छ ।
नागरिकताकै निम्ति
यही माटोमा जन्मनु पर्ने बाध्यता छैन
यही माटोमा जन्मेका
जन्मदाता हुनु पर्ने आवश्यकता छैन
अर्थात
वंशजको बाध्यता छैन
जन्मको आवश्यकता छैन
अब त
अङ्गीकृत अवधि पनि अन्त्य भयो ।
पराईलाई सिन्दुर छर्दा छर्दै नागरिकता
पराईले सिन्दुर छर्दा छर्दै नागरिकता
नागरिकताकै लागि
एकै छिन नयाँ नातो
अर्थात
एकै दिनमा नातो
एकै दिनमा नागरिकता ।
राष्ट्रघातीहरूको मूल्य बढ्दै जाँदा
यो देशमा
यहाँ नागरिकताको मूल्य
घट्दै गयो
देशमा लोण्डुपेहरु बढ्दै जाँदा
स्वाधिनता घट्दै गयो
एक दिन
यो देश विदेशीको देश हुनेछ
किनकी
फर्सीको दाम भन्दा पनि सस्तो
आलुको भाउ भन्दा पनि सस्तो
निकै सस्तोमा लिलाम हुँदै छ नागरिकता
निकै सस्तोमा लिलाम हुँदै छ नागरिकता ।।