काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलन काठमाडौँ जिल्ला समितिको आयोजनामा अट्ठाइसौँ विश्व आदिवासी दिवस मनाइएको छ ।
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यमा आज (अगस्त ९) बागबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता पुरीले नेपालमा आदिवासी र जनजातिको बेग्लाबेग्लै परिभाषा हुनुपर्ने बताउनुभयो ।
जनजाति आन्दोलनमा यी दुवै सामाजिक प्रवर्गलाई एउटै ठान्ने गरिएको प्रसङ्गलाई गलत बताउँदै उहाँले विज्ञहरूको खोज–अनुसन्धानको आधारमा जनजाति र आदिवासी प्रवर्गबारे सही समझदारी कायम गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा अर्का अतिथि जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी मगरले जनजाति र आदिवासीको आन्दोलनलाई अझै अगाडि बढाउनुपर्ने बताउनुभयो । नेपालको संविधान–२०७२ ले आदिवासी जनजातिलाई केही अधिकार दिएको बताउँदै उहाँले त्यति मात्र पर्याप्त नभएको बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापा, जातीय समता समाजका महासचिव भक्त विक, राजमो काठमाडौँका सचिव छवि खनाल, काठमाडौँ–सुदूर पश्चिम सम्पर्क समितिका अध्यक्ष भीष्म जोशी र गुल्मी–काठमाडौँ सम्पर्क समितिका उपाध्यक्ष ईश्वरी शर्माले पनि मन्तव्य राख्नुभएको थियो ।
अर्जुन थापाको सञ्चालन तथा केशव लामाको अध्यक्षतामा अगाडि बढेको उक्त कार्यक्रममा दाबा लामाले स्वागत गर्नुभएको थियो ।