काठमाडौं । गृह मन्त्रालयले सोमबार विभिन्न जिल्ला प्रशासन कार्यालयलाई नागरिकताको प्रमाणपत्रमा अपमानजनक नाम परिवर्तन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना र जानकारीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउन व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
सोमबार गृहमन्त्री बालकृष्ण खाँणको आदेश अनुसार गृहमन्त्रालयबाट सो आदेश जारी भएको थियो ।
राष्ट्रिय जनमोर्चाका राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्मा (राजेश विक) र माओवादी केन्द्रका सांसद भुवन सुनारले गृहमन्त्रीलाई भेटेलगत्तै यस्तो आदेश आएको थियो ।
केही दिनयता विभिन्न सञ्चारमाध्यम नागरिकता बनाउँदा व्यक्तिका अपमानजनक नाम राखेर नागरिकता प्रमाणपत्र दिइएको सार्वजनिक भएपछि त्यसले संसदमा समेत महत्व पाएको थियो । तर, नाम सच्याउनेबारे ठोस निर्णय आएको थिएन ।
सोमबार राष्ट्रिय सभा बैठकलगत्तै सांसदद्वय विक र सुनार गृहमन्त्रीलाई भेट्न मन्त्रालय पुग्नुभएको थियो । उहाँहरुले अपमानजनक नाम राखेर बनाइएका नागरिकता प्रमाणपत्रबाट नाम हटाउन र त्यस्तो नाम राखिदिने अधिकृतलाई कारबाही गर्न माग गरेको सांसद राजेश विकले बताउनुभयो ।
त्यसलगत्तै गृहमन्त्रीले मन्त्रालयका अधिकारीलाई बोलाएर निर्देशन दिनुभएको थियो ।
‘हामीले गृहमन्त्रीसँग भेटेर नागरिकताका अपमानजनक नाम सच्याउन र त्यस्तो नाम राखेर नागरिकता प्रमाणपत्र दिने अधिकारीहरुलाई कारबाहीको माग गर्यौँ’ सांसद विकले युगदर्शनसँग भन्नुभयो, ‘नाम सच्याउने विषयमा गृहमन्त्रीबाट तत्काल निर्देशन दिइएको हो ।’
सो निर्देशनमा ‘१) अपनामनजक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने नागरिकता प्रमाणपत्र जारी नगर्ने, २) त्यसरी अपमानजनक नाम प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पुरा गरी सच्याउने व्यवस्था मिलाउने’ उल्लेख छ ।
उहाँले अब कुनै पनि अधिकृतले त्यसखालको अपमान नगरोस् भनेर सचेत गराउनका लागि पनि सम्बन्धित अधिकृतहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
विभिन्न जिल्लामा दलित समुदायका व्यक्तिलाई दिइएको नागकितामा अपमानजनक शब्दहरु राखेर नाम लेखिदिएका कारण ती व्यक्ति उनका परिवारका सदस्य र आफन्तले लामो समयसम्म पीडा सहनुपरेको छ ।
