काठमाडौं । पाँचदलीय गठबन्धन सिट कार्यदल संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन हुनुभएको छ । सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक चयन गरेको हो ।
बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बैठकले सिटौलालाई संयोजक चयन गरेको र २६ गते ४ बजे फेरि बस्ने गरि बैठक स्थगित भएको जानकारी दिनुभयो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटको सुझाव दिन गठित पाँचदलीय गठबन्धन कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।
पाँचदलीय गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको थियो।
११ सदस्यीय कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्।
त्यस्तै, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ ।
सत्ता गठबन्धनका पाँच दलले बनाएको ११ सदस्यीय समिति कार्यदलले साउन महिनाभित्र सिट बाँडफाँटको मोडल प्रस्ताव गर्ने समयसीमा पाएको छ। अब बस्ने बैठकले सिट बाँडफाँटको मोडालिटी तय गर्ने छ ।