काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सरकारले संसदीय समितिको अवहेलना गरेको आरोप लगाउनुभएको छ ।
बिहीवार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले संसदीय समितिले माग गरेका एसपीपी सम्बन्धी डकुमेण्ट उपलब्ध नगराउनु संसदीय समितिको अवमूल्यन भएको जिकिर गर्नुभयो ।
सांसद पौडेलले समितिले निर्देशन गरेका कुरा बिना अर्थ नै बंग्याउन नहुने भन्दै सरकारले एसपीपी सम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने भनेर बोलिसक्दा पनि सेनाप्रमुख एसपीपीको कार्यक्रममा उपस्थित हुनु गलत भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले एसपीपी सम्बन्धी अहिलेसम्मको के के डकुमेण्ट छ त्यो मागेका थियौँ । एउटा सांसदले देशमा के भइरहेको छ त्यो सबै जानकारी पाउने अधिकार राख्छ । त्यो माग गरेपनि सामग्री आएन । कतिपय जवाफ सुन्दा त्यसले पूरा गर्दैनन् । हाम्रो अधिकारको कुरा हो । हामीले माग गरेका कुरा सरकारले दिनुपर्छ । मिनि पार्लियामेन्ट (संसदीय समिति) लाई अवहेलना गर्नुहुँदैन ।
यो समितिले निर्देशन गरेका कुरा बिना अर्थ नै बंग्याउनु हुँदैन । सरकारले एसपीपी सम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने भनेर बोलिसक्दा पनि सेनाप्रमुख एसपीपीको कार्यक्रममा उपस्थित हुनु गलत हो । यसमा स्पष्ट हुनुपर्छ ।’ सांसद पौडेलले सरकार एसपीपीमा स्पष्ट हुनु आवश्यक रहेको बताउनु भयो ।