काठमाडौं । सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेसँगै डुबानमा परेको बस्तीका बासिन्दाको विचल्ली भएको छ ।
सप्तकोसी नदीको बाँध फुटेर उदयपुरको बेलका नगरपालिका १,२,३,८ र ९ नम्बर वडाको क्षेत्रमा बाढी पसेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडा पनि डुबानमा परिसकेको छ ।
बुधवार बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा सतर्कता अपनाइएको छ । बस्तीमा पसेका कारण आसपासका उदयपुर, सुनसरी, सप्तरी लगायतका जिल्लाका करिव २० हजार मानिस प्रभावित हुनसक्ने आँकलन गरिएको छ ।
नदीको धार पुरानो ठाउँमा फर्किंदा बस्ती डुबानमा परेको स्थानीयहरुको भनाइ छ । बस्तीमा बाढी पसेसँगै स्थानीयहरु आफ्ना सामान पोको पारेर सुरक्षित स्थानतर्फ लागेका छन् । गाउँ डुबिनसकेपनि सरकारले डुब्नसक्ने जोखिमका कारण सुरक्षित स्थानमा जान आग्रह गरेको स्थानीयहरु बताउँछन् ।
पानीको मात्रा बढीरहेकोले वस्तुभाउ छोडेर निस्किएको स्थानीयहरुले बताए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् । पूर्वी नेपालमा अविरल वर्षाका कारण पानीको सतह झनै बढ्दै गएकोले जोखिम अझै बढ्नसक्ने अनुमान छ ।
पानीको सतह बढ्दै गए चार हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ । जोखिम क्षेत्रको रेखाङ्कन गरेर थप शतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ ।
एक हजारको उद्धार
बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएरातिबाट सप्तकोशीको भंगालो पसेको त्यहाँ फसेका बासिन्दालाई उद्धार गर्न समस्या भइरहेको बताइएको छ । श्रीलंका टापुमा फसेकाहरूको तीन स्थानबाट उद्धार सुरु गरिएको प्रहरीले जनाएको ।
उद्धारमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली जुटेको छ। सुरक्षाकर्मीको सहयोगमा अहिलेसम्म १ हजार परिवारलाई उकास क्षेत्रमा पुर्याइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।