कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले विवादित नागरिकता विधेयक खारेजीको माग गर्दै जिल्लाका दुई स्थानमा प्रदर्शन गरेको छ । शिवराज नगरपालिकाको चन्द्रौटा बजार र खरेन्द्रपुर चोकमा राजमोले कोण सभा सम्पन्न गरेको हो ।
चन्द्रौटाको कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लकर तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले नेपाल फिजीकरणको दिशामा अघि बढेको बताउँदै अहिलेको नागरिकता विधेयक खारेज नगरे, भविष्यमा नेपालको राज्य सत्ता नै विदेशी मूलका नागरिकको हातमा जाने बताउनु भयो ।
विदेशीलाई नागरिकता खुकुलो बनाउन नागरिकता विधेयक ल्याएको भन्दै खारेज गर्न आन्दोलन सशक्त पार्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिल बहादुर विकले देशको तत्कालीन राजनीतिक अवस्थाको बारेमा प्रकाश पार्नु भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा शिवराज नगर समिति अध्यक्ष केरसिंह पुनले गर्नु भएको थियो ।

यसैगरी खरेन्द्रपुर चोकमा पनि नागरिकता विधेयक विरुद्ध कोण सभा सम्पन्न भएको छ । उक्त कोण सभालाई राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा शिवराज नगर अध्यक्ष केरसिंह पुन र राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले सम्बोधन गर्नु भएको थियो ।
सञ्चालन रक्तिम सांस्कृतिक अभियान शिवराज नगर अध्यक्ष तथा राष्ट्रिय जनमोर्चा नगर कोषाध्यक्ष बेगम बुढा मगरले गर्नु भएको थियो ।