काठमाडौं । राष्ट्रिय सभाले पनि नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ।
बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो। यो विधेयकलाई प्रतिनिधिसभाले ६ साउनमा पारित गरेको थियो ।
विधेयकमाथि बिहीवार नै दफाबार छलफल प्रारम्भ भएको थियो। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित भएको घोषणा गर्नुभयो ।
‘हुन्छ भन्ने माननीय सदस्यहरुको बहुमत भएकोले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु,’ उहाँले भन्नुभयो ।
नागरिकता विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् । त्यस्तै बाबुको पहिचान हुन नसकेकाहरुले आमाको नामबाट पनि नागरिकता लिन पाउने भएका छन् ।