प्युठान । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले विदेशी प्रभुलाई खुसी पार्न सत्ताधारीहरुले नागरिकता विधेयक पास गरेको आरोप लगाउनुभएको छ ।
बुधबार राष्ट्रिय जनमोर्चा प्युठानले सदरमुकाम खलंगामा आयोजना गरेको नागरिकता विधेयकविरुद्धको कोणसभामा बोल्दै नेता खत्रीले केही व्यक्तिहरुको सत्तास्वार्थका कारण नेपाली निकट भविष्यमै आफ्नै देशमा अल्पमतमा पर्नसक्ने बताउनुभयो ।
‘प्रतिनिधि सभाबाट पास भएको नागरिक्ता विधेयकले हाम्रो जस्तो खुल्ला सिमाना भएको देशमा वास्तविक नेपालीहरु भविष्यमा अल्पमतमा परि देश सिक्किमीकरणतर्फ जाने खतरा बढाएको छ । वास्तविक नेपाली भोलि विदेशीको गुलाम बन्नुपर्ने र गैरनेपालीको हालीमुहाली हुने अवस्था आउँदै छ’ खत्रीले भन्नुभयो, ‘विदेशी प्रभुलाई खुसी पार्न ल्याइएको यो विधेयकलाई कुनै पनि नेपाली नागरिकले समर्थन गर्न सक्दैनन् ।’
नेता खत्रीले राष्ट्रघाती नागरिकता विधेयक खारेजीका लागि सम्पूर्ण जनता एकजुट हुन र आन्दोलनको उठान गर्न पनि आह्वान गर्नुभयो ।
कार्यक्रम अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमल पौडेलको सञ्चालनमा अघि बढेको थियो ।