दाङ । राष्ट्रिय जनमोर्चा, दाङले प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । राजमोले संसदबाट राष्ट्रघाती काम भएको आरोपसहित त्यसलाई सच्याउन माग गरेको हो ।
आइतबार घोराहीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेस थापाले भारतको योजनालाई नेपालका ठूला भनाउँदा दलहरूले सफल बनाउँदै लगेको र भारतको दलाली गरेको आरोप लगाउनु भयो ।
राजमोका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष गणेश आचार्यले नेपालमा चरणबद्ध रूपमा रास्ट्रघात हुँदै आइरहेको भन्दै पछिल्लो चरणमा रास्ट्रघाती नागरिकता विधेयक पास गरेर कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दल मिलेर देशलाई फिजिकरणको दिशामा लगेको बताउनु भयो ।

अखिल नेपाल किसान महासंघका जिल्ला सचिव मनिराम खनालले देशमा महंगी, भ्रष्टाचार, अभाव छ, देशमा आर्थिक संकट उत्पन्न भइरहेको छ तर सरकारको ध्यान देशलाई कमजोर बनाउने रास्ट्रघाती काम गर्ने र विदेशीको गुलामी गर्नमै ब्यस्त छ भन्नुभयो ।
कार्यक्रमको सञ्चालन राजमो जिल्ला सदस्य सुशील पोख्रेलले गर्नु भएको थियो ।