काठमाडौं । वैदशिक रोजगारीका लागि साउदी अरब पुगेका २५ जना नेपाली गम्भीर बिरामी तथा अङ्गभङ्ग भइ कोमामा उपचाररत रहेका छन् । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा सो जानकारी दिइएको हो ।
मन्त्रालयका सचिव एक नारायण अर्यालले अहिले साउदीमा मात्रै २५ जना नेपाली कामदारहरु कोमामा उपचाररत रहेको जानकारी दिनुभयो ।
विदेशमा कोमामा, र अंगभंग भएर उपचार गराइरहेका नेपाली कामदारहरुको उद्धारका लागि सरकार गम्भीर रहेको र दूतावासहरुले सोहिअनुसार काम गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले यो आर्थिक वर्षमा मात्रै सबैभन्दा बढी साउदीमा १ लाख ८८ हजार ३९८ जना नेपालीहरु रोजगारका लागि गएको बताउनुभयो ।
श्रम रोजगार तथा सामजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले साउदी अरब र दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतहरुलाई वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको सुरक्षाका विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।
नवनियुक्त साउदी अरेबियाका राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकाका राजदूत दान बहादुर तामाङसँगको छलफलमा मन्त्री कुँवरले वैदेशिक रोजगारमा जाने नेपालीहरुले पाउने गरेका दुख, समस्याका विषयमा चासो व्यक्त गर्नुभएको हो ।
उहाँले दुवै राजदूतलाई नेपाली कामदारको कामको ग्यारेन्टी र सुरक्षाका विषयमा विशेष ध्यान दिन आग्रह समेत गर्नुभयो ।
‘यहाँबाट जाने कामदारले उता भनेअनुसार काम नपाउने गुनासाहरु धेरै सुनिन्छन्। पठाउने व्यक्ति वा कम्पनीले उनीहरुलाई ठग्ने गरेका कारण बिचल्लीमा परेका घटनाहरु आइरहन्छन्। यसबारे विषेश ध्यान दिन म आग्रह गर्न चाहन्छु’ मन्त्री कुँवरले भन्नुभयो ।