गुल्मी । भारतले गरेको सीमा अतिक्रमण तथा जाली नक्सा खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा गुल्मीले जिल्लाब्यापी मोटरसाइकल र्याली गर्ने तयारी गरेको छ ।
शनिबार सम्पन्न राजमो जिल्ला समितिको बैठकले आगामी माघ ५ गतेदेखि ८ गतेसम्म मोटरसाइकल र्याली गर्ने निर्णय गरेको हो । सदरमुकाम तम्घासबाट सुरु हुने र्याली लुम्दा, दौदा, रिडि, पुर्तिघाट, रम्फै, भुर्तुङ्गी, धुवाँदोला, शान्तिपुर, मजुवा, अलाङकोट, बाँझकटेरी, झ्यालपोखरी, पुर्कोटदह, हाडहाडे, धुर्कोटलगायतका स्थानमा विरोध सभा गर्दै तम्घासमै पुगेर समापन हुनेछ ।
यस्तै, राजमो गुल्मीले आफ्नो पाँचौ जिल्ला सम्मेलन फागुन २३ र २४ गते तम्घासमा गर्ने भएको छ । जिल्ला समितिको बैठकले सम्मेलनबारे निर्णय गरेको शंकरप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।
भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका स्थानमा अतिक्रमण गरी आफ्नो नक्सामासमेत गाभेको विरोधमा राजमोले दैनिक देशब्यापीरुपमा विरोध प्रदर्शन गरिरहेको छ ।
