गोपाल प्रसाद भट्टराई, अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले भएका प्रगतिको संरक्षण र दिगो विकास अबको लक्ष्य हुनुपर्ने बताउनुभएको छ ।
नगरपालिकाले बुधबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले विकासको यात्रामा हचुवापना देखिएको भन्दै जिम्मेवार भएर भूमिका निर्वाह गर्न सरोकारवालालाई आग्रह गर्नुभयो ।
आन्तरिक स्रोत कम भए पनि भूमिकास्थानमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकोले यसलाई व्यवसायिक बनाएर समृद्धि हासिल गर्न सकिने नगरप्रमुख थापाको धारणा छ ।
आर्थिक वर्ष २०७८/७९ मा ८०.३२ प्रतिशत वित्तिय प्रगति हासिल गरेको नगरपालिकाले जनाएको छ । समीक्षा कार्यक्रममा योजना शाखा प्रमुख हरिषचन्द्र भुसालले नगरको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ८०.३२ प्रतिशत आर्थिक प्रगति गरेको जानकारी दिनुभएको हो । उहाँका अनुसार नगरपालिकाले गत आर्थिक वर्षमा ८३ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।
कार्यक्रममा नगर उप–प्रमुख बालकृष्ण बन्जाडे, नगर प्रवक्ता बाबुराम पन्थी, १० वटै वडाका अध्यक्ष, राजनितिक दल, कार्यपालिका सदस्य, पत्रकार महासंघ अध्यक्ष अशोक खनाल सहित पत्रकार लगायतको सहभागिता थियो ।
कार्यक्रममा उठेका सवालहरुको प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्रीले जवाफ दिनुभयो । त्यसक्रममा क्षेत्रीले पछिल्लो समय उपभोक्ता समिति गठन हुने तर काम ठेकदारले गर्ने र समितिले कमिशन खाने चलखेल सुरु भएको आशंका व्यक्त गर्दै यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा १० वटै वडाका सचिव र नगर स्थित विषयगत शाखा प्रमुख हरुले आ–आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नगरपालिकाका कर्मचारि शेषकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस नेतृ चन्द्रा गैरे,राष्ट्रिय जनमोर्चा नगर अध्यक्ष टेक बहादुर थापा,पत्रकार हृदय कुमार भुसाल,रुद्रमणी भुसाल लगायतले जिज्ञासा र सुझाव राख्नुभएको नगरपालिकाका सुचना प्रविधि अधिकृत चिरनजीवी भुसालले जानकारी दिनुभएको छ ।
यसैबिच भूमिकास्थान नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को लागि ११ औं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट समेटिएको रातो किताब समेत विमोचन गरेको छ ।