काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभएको छ ।
वाग्लेले सामाजिक सञ्जालमार्फत मोदीसँगको तस्बिर सार्वजनिक गर्दै केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीलाई भेट्ने क्रममा मोदीले १० दिनअघि आफूलाई भेटेको उल्लेख गर्नुभएको छ ।
‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै आएर भन्नुभएको थियोः Highways, Infoways र Transways अर्थात् पूर्वाधार, डिजिटल अर्थतन्त्र र ऊर्जा प्रशारणबाट द्रूत विकास गर्ने पहलमा भारतको साथ हुनेछ’ कांग्रेस निकट वाग्लेले लेख्नुभएको छ, ‘१० दिनअघि दिल्लीमा केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरूलाई भेट्ने क्रममा मैले यो प्रसङ्ग उठाउँदा मोदीजी मुस्कुराउनुभयो ।’
योजना आयोगका पूर्वउपाध्यक्ष वाग्ले हाल विश्व बैंकका वरिष्ठ अर्थशास्त्रीका रुपमा कार्यरत हुनुहुन्छ ।
स्मरणीय छ, पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालै सम्पन्न भारत भ्रमणका क्रममा मोदीले अन्तिम समयमा भेट गर्न अस्वीकार गरेका थिए । मोदीको सो व्यवहार प्रचण्डको अपमानसँगै नेपालप्रतिकै हेपाहा प्रवृत्ति भएको भन्दै आलोचना भएको छ ।