काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समाजवादी केन्द्र गठबन गर्न प्रस्ताव गर्नुभएको छ । प्रचण्ड र भट्टराईबीच मंगलबार भएको पार्टी एकतामा जान सकिने गरी छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार प्रचण्ड–बाबुरामबीचको वार्तामा पार्टी एकतासम्म पुग्न सकिने गरी निष्कर्ष निकालिएको छ। दुई नेताबीच सिंहदरबारमा करिब एक घण्टा छलफल भएको छ ।
जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव पक्षले कारवाही गरेपछि नयाँ पार्टी गठन प्रयासमा रहेका डा. भट्टराईले समाजवादी केन्द्र बनाएर जाने प्रस्ताव गरे पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने पार्टी एकतामै आउन आग्रह गरेको स्रोतले जनाएको छ ।
भट्टराईले संविधान निर्माणपछि नयाँ शक्ति निर्माण गर्ने भन्दै १० असोज २०७२ मा माओवादी केन्द्र परित्याग गर्नुभएको थियो । त्यसपछि मधेश केन्द्रित दलसँग एकता गरेका भट्टराई संलग्न पार्टी पटक पटक फुट्दै जुट्दै आइरहेका छन् ।
मंगलबार भएको छलफलमा बाबुरामले जसपाबाट अलग भएपनि आफू सत्ता गठबन्धनमै रहेको बताएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिक्रिया दिनुभयो । उहाँले आगामी निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय सकारात्मक भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘काँग्रेसले सहि निर्णय गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहिँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ बाबुरामजीको ।’





