काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयका उच्च अधिकारीसँग छाबिन गरेको छ । समितिले मन्त्रालयको सिसिटिभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको हो ।
आइतवार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग सोधपुछ गरेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
आइतवार अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको उहाँले बताउनु भयो । उहाँले आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थ सचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताउनु भयो ।
शनिवार समितिले मुल गेटदेखिका सिसिटिभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको थियो ।
उहाँले भन्नुभयो,‘पूर्व अर्थमन्त्रीका विषयमा आवश्यक कागज तथा प्रमाण अर्थ मन्त्रालयसँग माग गरे प्रश्चात अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग सोधपुछ र जानकारी लिने काम निरन्तर चलिरहेको छ । शनिवार पनि भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशहरु र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग सोधपुछ गर्ने काम भयो । आईतवार त्यसैको निरन्तरताको रुपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटीको इन्जिनियरसँग ८ बजेको बैठकमा छलफल भयो ।’
सचिव अर्यालले आज नै अर्थ मन्त्रालयसँग सम्बन्धित विषयका प्रमाण र काजगका लागि आवश्यक सबै अधिकारीहरुसँग छलफल तथा सोधपुछ सकेर समिति अगाडि बढ्ने तयारी रहेको बताउनु भयो ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।