काठमाडौं । भारत भ्रमणमा रहेका सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिएनन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँगसमेत भेट्ने कार्यक्रम रहेकोपनि मोदीले ‘कार्यव्यस्तताका कारण’ देखाएर भेट नदिएको बताइएको छ ।
तीन दिने भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आइतवार दिउँसो भेटेका दाहाल मोदीलाई नभेटी आजै स्वदेश फर्किने दाहालको सचिवालयले जनाएको छ ।
दाहालले आइतवार बिहान मोदीसँग खानासहित वार्ता गर्ने तयारी भएको सचिवालयले बताएको थियो । तर मोदीले कार्यव्यस्तता जनाउँदै प्रचण्डसँग भेट्ने योजना रद्द गरिदिएको विश्वस्त स्रोतले जनाएको छ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नड्डासँगको भेटसँगै तीन दिने दिल्ली भ्रमण सकिएको बताएका छन्।
‘भाजपा अध्यक्ष जेपी नड्डासँगको भेटवार्तासँगै अध्यक्ष प्रचण्डको भारतको तीन दिने सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ’ उनले भनेका छन्, ‘पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलो र देश–देश बीचको सुदृढ सम्बन्ध विस्तारको लागि सहयोगी यो भ्रमण देश र पार्टीको लागि फलदायी बनेको छ।’
भाजपा अध्यक्ष जेपि नड्डा ज्युसङगको भेटवार्ता सङगै अध्यक्ष कमरेड प्रचण्डको भारतको तीन दिने सदभावना भ्रमण सफलतापुर्वक सम्पन्न भएको छ। पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलो र देश-देश बीचको सुदृढ सम्बन्ध विस्तारको लागि सहयोगी यो भ्रमण देश र पार्टीको लागि फलदायी बनेको छ। pic.twitter.com/6gO9d6JS9g
— Ramesh Malla (@Rameshmalla035) July 17, 2022