काठमाडौं । बागमती प्रदेश सरकारले एक लाखको राहत वितरण गर्न २८ लाख खर्च गरेको छ । राहत वितरण गर्न तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोली एक पटक हेलिकप्टरमा गएकोमा थप १४ फर्जी उडानको बिल बनाएर २८ लाख रुपैयाँ भुक्तानी लिएको पाइएको हो ।
पूर्वमुख्यमन्त्री पौडेलले भने आफ्नै पालामा कसरी त्यस्तो भयो भन्नेबारे आश्चर्य व्यक्त गर्नुभएको छ ।
सिन्धुपाल्चोकको पहिरो निरीक्षण गर्न आफ्नो नेतृत्वमा एक पटक मात्रै हेलिकोप्टरमार्फत गएको तर, थप १४ उडानको फर्जी बिल बनाएर राज्यकोषबाट २८ लाख रुपैयाँ भुक्तानी गरिएको पौडेलको दाबी छ ।
पौडेलले शुक्रबारे सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्नका लागि उद्धार टोलि र पु¥याउन सकिने राहत सामाग्रीसहित आफू एक पटक मात्र नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक पुगेको बाहेक १४ वटा उडान थपिएर आएको खबरले म स्तब्ध भएको छु ।’
उहाँले सो घोटाला को बाट कसरी भयो भन्ने विषयमा छानबिन गर्नसमेत माग गर्नुभएको छ ।
पौडेलले लेख्नुभएको छ, ‘महालेखा परीक्षकको प्रतिवेदनको हवला दिदै आएको समाचारमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले १२ पटक नेपाली सेनाको हेलिकप्टर र ३ पटक निजी हेलिकप्टर समेत प्रयोग भएको भनि राज्यको साँढे २८ लाख भन्दा बढी रकमको भूक्तानी गरेको खबरले मलाई आश्चर्य चकित पारेको छ’ उहाँले भन्नुभएको छ, ‘यसरी एउटा उडान भएकोमा १५ वटा उडानको भुक्तानी हुनु पक्कै पनि अक्षम्य अपराध हो। यो कसरी र कोबाट भयो यसको छानबिन हुनैपर्छ ।’