खलङ्गा । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सांसद तारा जिसीले देश टाट पल्टिने दिशातर्फ अघि बढिरहेको दाबी गर्नुभएको छ ।
जिल्ला समन्वय समिति प्युठानको २०७९ असार ३१ गते सम्पन्न चौथो जिल्ला भेलाको उद्घाटन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको थियो ।
उहाँले देश आर्थिक रूपमा टाट पल्टिँदा गणतन्त्रसमेत खतरामा पर्ने भएकाले गणतन्त्रको पक्षधर सबै शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा उहाँको जोड थियो ।

सम्बोधनको क्रममा उहाँले सङ्घ र प्रदेशबाट आउने हजारौँ योजनाहरूको कार्यान्वयनको तरिका, गुणवत्ता, पारदर्शिता आदिबारे आम जनतामा असन्तुष्टि रहेकाले यसले पनि देशलाई असफलतातिर लैजान सक्ने बताउनुभयो ।
शून्य बेरुजु हुने देशभरिका तीन पालिकामध्ये प्युठानका मल्लरानी र सरुमारानी गाउँपालिका छनौट हुनु ऐतिहासिक रहेको बताउँदै नेतृ जिसीले दुबै पालिकालाई धन्यवाद र बधाइसमेत दिनुभयो ।
सो क्रममा उहाँले सङ्घीयताको खारेजी हाम्रो मात्रै माग नभएर सबै नेपाली जनताको माग र देशको आवश्यकता भइसकेकोले यसको खारेजीको विकल्प नरहेको ठोकुवा गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका कार्यालय प्रमुखहरू, पूर्व जिविस, जिसस प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधिले पनि शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय प्युठानका प्रमुख धरमबहादुर जिसीले गर्नुभएको थियोे ।