काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपिएको छ । दुवै आयोगको म्याद शनिबार सकिँदै थियो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको म्याद तीन महिना थपेर असोज मसान्तसम्म बनाउने निर्णय गरेको हो । सरकारले शुक्रबार नै प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने गर्दै छ।
यसअघि आजै बसेको पाँचदलीय गठबन्धनको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीको म्याद थपका लागि ऐन संशोधन गर्ने सहमति जुटाएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।
दुई वर्षका लागि भनेर २०७१ माघमा गठित दुवै आयोगको अघिल्लो कार्यकाल चार वर्षसम्म चलेको थियो । त्यसको दुई महिनापछि दुवै आयोगमा हालका पदाधिकारी नियुक्त भएका थिए । आयुक्त र आयोग दुवैको निरन्तरताका लागि ऐन संशोधन गर्नुपर्ने हुन्छ ।