काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मा (राजेश) ले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको योजना के छ भनि प्रश्न गर्नुभएको छ ।
मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महंगीका कारण जनता आक्रान्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धिका कारण जनताको जिवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद विकले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरु मन्द गतिमा भएको उल्लेख गर्नुभयो । उहाँले ठेकेदारहरुको ढिलासुस्ती र लापरबाहीका कारणले कतिपय विकास निर्माणका कामहरु रोकिएको भन्दै उनीहरुलाई सरकारले कडाइपूर्वक काम लगाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै, उहाँले बढ्दो व्यापारघाटालाई रोक्नुपर्ने बताउनुभयो । आयातलाई कम गर्दै लैजान उत्पादनमा वृद्धि गर्नुपर्ने सांसद विकको सुझाव थियो ।