जगदीश ढकाल, बाँके ।
राष्ट्रिय जनमोर्चा बाँकेले भ्रष्टाचार, महङ्गी, बेरोजगार, महिला हिंसा, मल विउको अभाव लगायतका विषयलाई लिएर विरोध प्रदर्शन गरेको छ । सोमबार (असार २० गते) बाँकेको कोहलपुरमा विरोध सभाको आयोजना गरिएको हो ।
जातीय समता समाजका केन्द्रीय सदस्य मनबहादुर सुनारले सञ्चालन गर्नुभएको कार्यक्रममा राजमोका पूर्व महासचिव तथा पूर्व सांसद हरि आचार्यले एमसीसी राष्ट्रको लागि गम्भीर षडयन्त्र भएकै बेला त्यसकै शिलशिलाको रूपमा आएको एसपीपी सम्झौताको विरुद्व देश नै एकजुट भएपछि सरकार पछि हट्न बाध्य भएको कुरा सकारात्मक भएको बताउनु भयो।
उहाँले पेट्रोलियम पदार्थको मूल्य स्वत : घट्ने बढ्ने भनेर घोषणा गर्ने मात्र नभै वैकल्पिक व्यवस्था गर्न पनि सरकार जिम्मेवारीबाट पछि हट्न नमिल्ने बताउनु भयो। नेता आचार्यले भारतिय साम्राज्यवादको दवावमा सरकार कृषि मल कारखाना खोल्न तयार नभएको पनि बताउनु भयो।
त्यस्तै, अखिल नेपाल किसान महासंघका महासचिव तुलसीराम सापकोटाले ६५ प्रतिशत कृषिमा आश्रीत नेपालीहरुलाई समयमै रासायनिक मल उपलब्ध नगराई सरकार कमिसनको खेलमा फसेको उल्लेख गर्नुभयो । विदेशीको इसारामा ल्याइएको संघीयताले देश टाट पल्टने स्थिति आएको बताउँदै उहाँले एमसीसी पास गरेर देश अमेरिकाको खेमामा सामेल हुनु गम्भीर खतरा भएको उल्लेख गर्नुभएको थियोे ।
अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डेले अति आवस्यक उपभोग्री बस्तुको आकासिएको मूल्य वृद्धिले जनताको चुलो बल्न छोड्ने अवस्था आएको बताउँदै महंगी भ्रष्टाचारको विरुद्व जनता सचेत भएर खबरदारी गर्न जरुरी भएको उल्लेख गर्नुभएको थियोे ।
विरोध सभामा राजमो केन्द्रीय सल्लाहकार मोमिना खातुनले महिलाहरु माथि दिनदहाडै हुने हिंसा ,बलात्कारका घटनामा सरकार मौन रहने गरेकोमा निन्दा गर्नुभयो।