काठमाडौं । वैदेशिक रोजगारीको लागि दुबई गएका एक नेपाली युवक घर फर्कँदा विमानस्थलमै पक्राउ परेका छन् ।
दुबईबाट अर्कैको बच्चाको लागि ल्याइदिएको उपहार का कारण उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
सुमन दमाई नाम गरेका ती यात्रु भिजिट भिषामा दुवई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा दिएको पोशाक ल्याइदिएका थिए । उक्त पोशाकमा सुन फेला परेपछि प्रहरीले सोमबार पक्राउ गरेको हो ।
उनको लगेज चेकजाँच गर्ने क्रममा नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको ६० वटा सुनका रिङ् फेला परेको प्रहरीले जनाएको छ। सो सुनको तौल १२५ ग्राम रहेको छ ।
पक्राउ परेका यात्रुलाई भन्सार कार्यालयले थप अनुसन्धान अगाडि बढाएको छ ।
विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाईफकाई कुनै मालवस्तु (जस्तैः टर्चलाइट, आइरन, मिक्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटर आदि) आफ्ना आफन्तका लागि पुर्याइदिन भनी अनुरोध गर्ने र भन्सार चेकजाँचका क्रममा त्यस्ता मालवस्तु भित्र लुकाइछिपाई सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको फेला परी सम्बन्धित यात्रुले कानून बमोजिम कारबाही भोग्नु परेको अवस्था छ।
अतः त्यस्तो मालवस्तुमा अन्य कुनै अवैध वस्तु लुकाईएको छैन भन्ने सुनिश्चित नभएसम्म अरू कसैको मालवस्तु नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको अनुरोध गरेको छ।