बसन्त खड्का, अर्घाखाँची ।
राष्ट्रिय जनमार्चाका महासचिव मनोज भट्टले देशमा देखिएका बेथितीप्रति सरकार बेखबर बनेको आरोप लगाउनुभएको छ ।
महंगी, भ्रष्टाचार, बेरोजगारीलगायतका विषयमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आइतबार सन्धिखर्कमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव भट्टले देशमा बेथिति बढेको तर सरकारले थाह नपाए जस्तो गरेको बताउनु भयो ।
उहाँले किसानहरुले धान रोप्ने बेलामा रासायनिक मल उपलब्ध गराउन नसक्नु सरकारको कमजोरी भएको भन्दै तत्काल समस्या समाधान गर्न माग गर्नुभयो ।
‘विद्यालय सञ्चालन भैरहँदा पनि विद्यार्थीहरुले पूर्ण रुपमा पुस्तक पाएका छैनन् । बजारमा चरम महंगी बढेर सर्वसाधारणलाई जिविकोपार्जन गर्न गार्हो भइरहेको छ । भ्रष्टाचार उस्तै बढिरहेको छ’ भट्टले भन्नुभयो, ‘बेरोजगारी समस्याले विकराल रुप लिएको छ । तर सरकार थाहा नपाए जसरी बसेको छ ।’
महंगी, भ्रष्टाचार र बेरोजगारीविरुद्ध राजमोले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रम अन्तर्गत अर्घाखाँचीमा कोणसभा भएको हो।
सन्धिखर्कको शान्ती बगैँचामा सम्पन्न कोणसभाको सञ्चालन राजमोका जिल्ला अध्यक्ष थम्मन केसीले गर्नुभएको थियो ।