विष्णु शर्मा ##
प्रकृतिले सुसज्जित हाम्रो देश नेपाल,
सदाबहार मुस्कुराउँछ उत्तरमा हिमाल ।
विश्वभर चर्चित सगरमाथा शिखर,
बिनाआवाज भनिरा’छ बन्नुपर्छ निडर ।
अमूल्य जडिबुटी मिल्छन् जङ्गलबाट,
ठुला ठुला रुखहरूले बन्छन् विशाल काठ ।
लेकमाथि लालीगुरास ढकमक्क फुल्ने,
त्यो दृष्य देख्दाखेरि मनकै पीडा भुल्ने ।
थरी थरी फलफूलहरू फल्ने लटरम्म,
पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म ।
मधेसको समथर जमिन पहाडको झरना,
भिन्न भिन्न भेषभूषा रहर लाग्दो हेर्न ।
सामाजिक सद्भाव बढाउने धार्मिक चाडबाड,
बाटाघाटै सुगन्ध आउने खानाका परिकार ।
बहुजाति बहुभाषा जलस्रोतको धनी,
मिलिजुली बस्ने सबै महासागर बनी ।
कैयौँ छन् रे खानीहरू खोजतलास गरे,
पत्ता लाउन सकिन्छ रे सरकार अघि बढे ।
यस्तो देशका राजैतिक दल बन्नुपर्ने सभ्य,
यी सम्पदा प्रयोगमा ल्याय देश बन्थ्यो भव्य ।
विदेशीलाई फाइदा पुग्ने योजना बन्द गरौँ,
देशलाई आत्मनिर्भर बनाउन पाइला अघि सारौँ ।