काठमाडौं । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन्। उनले मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष बुधबार राजीनामा बुझाएकी हुन् ।
जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत बनाएको थियो । यहीबीच वलीले राज्यमन्त्री पदबाट राजीनामा दिएकी हुन्।
पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि विमला दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्।
तर ऋषि कट्टेलले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै दिएको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र एकता गरी बनाइएको नेकपा भंग गरेपछि गत वैशाख १९ गते विमलाले माओवादी केन्द्र रोजेकी थिइन्। त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।





