काठमाडौँ । बौद्ध पुरातात्विक सहर निर्माणको बारेमा कार्यशाला गोष्ठी गरिने भएको छ । राष्ट्रिय जनमोर्चा निकट बौद्ध पुरातात्विक सहर निर्माण परियोजनाले यस्तो कार्यक्रमको आयोजना गर्न थालेको हो ।
परियोजनाका संयोजक राजमो उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलका अनुसार २०७९ असार १३ गते सो परियोजनाको विचारगोष्ठी आयोजक समितिको बैठक राजमो केन्द्रीय कार्यालय कपनमा बसेको थियो । सो समितिमा मनोज भट्ट, हिमलाल पुरी, घनश्याम न्यौपाने र बद्रे आलम सदस्य रहनुभएको जानकारी दिइएको छ ।
समितिको बैठकले विषयसित सम्बन्धित दुई दिने कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको पौडेलले बताउनुभयो । उहाँका अनुसार कार्यशाला गोष्ठीमा राजमोको तर्फबाट एउटा अवधारणा पत्र प्रस्तुत गरिने छ भने विषयविज्ञको तर्फबाट चारओटा कार्यपत्र प्रस्तुत गरिने छ ।
‘ती अवधारणा पत्र, कार्यपत्र, कार्यक्रममा प्रस्तुत गरिएका विचारलाई समेटेर पछि पुस्तक प्रकाशन गरिने छ’ संयोजक पौडेलले भन्नुभयो ।
उहाँले कार्यशाला गोष्ठीको तयारीको क्रममा पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष, त्रिभुवन विश्वविद्यालय इतिहास विभाग, बौद्धदर्शन विभाग, न्याथम, डा. गितु गिरी, डा. चन्द्रकला अधिकारीलगायत सित भेटघाट गरिने योजना रहेको बताउनुभयो ।
संयोजक पौडेलले परियोजनाको आगामी बैठकबाट कार्यशाला गोष्ठीको स्थान, मिति, कार्यपत्र प्रस्तोता, वक्तालगायतका विषयमा निर्णय गरिने पनि जानकारी दिनुभयो ।