बागलुङ । राष्ट्रिय जनमोर्चाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । आइतबार बागलुङ बजारमा स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षणसहित सम्मान गरिएको हो । त्यसक्रममा पार्टीले जनप्रतिनिधिलाई ‘पार्टी अनुशासन मान्ने, जनताको सेवा गर्ने तथा प्रलोभनमा नपर्ने’ शपथ खुवाएको छ ।
कार्यक्रममा प्रशिक्षण दिँदै राष्ट्रिय जनमोर्चाका पूर्वसचिव कृष्ण अधिकारीले जनताले जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोण राम्रो नभएकोतर्फ सचेत गराउनुभयो ।
‘जनताले आफ्ना प्रतिनिधिलाई हेर्ने दृष्टिकोण राम्रो छैन । यिनीहरु जनताको मालिन बन्न गएका हुन्, कमाउन गएका हुन् भन्ने दृष्टिकोण छ’ अधिकारीले भन्नुभयो, ‘अधिकांश जनप्रतिनिधिले जनताको सेवा भन्दा पनि आफ्नै सुविधा हेर्ने, जनताको मालिक ठान्ने प्रवृत्तिले यस्तो भएको हो । तपाँइहरु जनताको सेवक बन्नुपर्छ । अनियमिता गर्न गराउन खोज्ने प्रवृतिबाट सधैँ जोगिनुपर्छ ।

नेता अधिकारीले ‘सित्तैमा पाउँदा अलकत्रा पनि खान्छन्’ भन्ने उखान प्रचलनमा रहेको स्मरण गराउँदै जसरी आफ्नो खल्तिको पैसा अनावश्यक काममा खर्च गरिँदैन, त्यसरी नै राज्यको सम्पत्ती पनि सदुपयोग हुने गरी काम गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा राजमो जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले चरित्रमा दाग लाग्ने कुनै काम नगर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । उहाँले कैयौँ व्यक्तिहरु विचार र दृष्टिकोणमा स्खलन आएपछि पार्टी छोडेर जाने गरेको चर्चा गर्दै पार्टीमा बसेर आफूलाई योग्य बनाउँदै लैजाने र त्यसबाट कमाउने सोचले उनीहरु पाखा लाग्ने गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।
यस्तै, बुद्धिजीवी तथा अखिल नेपाल कानुन व्यवसायी संघका उपाध्यक्ष काजिगाउँले श्रेष्ठले स्थानीय तह सञ्चालनसँग सम्बन्धित कानुनबारे जानकारी दिनुभएको थियो । उहाँले जनप्रतिनिधिलाई कर्मचारीले कसरी अनियमितता गर्न प्रोत्साहन गर्छन्, घुस खान र फसाउन प्रयत्न गर्छन् भन्ने दृष्टान्त प्रस्तुत गर्दै जननिर्वाचित प्रतिनिधिहरु सचेत रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले आफूलाई जहिले पनि जनताको सेवकका रुपमा प्रस्तुत गर्न आग्रह गर्दै आफूले सुविधा लिने भन्दा जनतालाई सेवा दिने कुरामा राजमोका जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताउनुभयो ।
जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता र सचिव भीमलाल न्यौपानेको सञ्चालनमा अघि बढेको कार्यक्रममा गण्डकी प्रदेश सांसद पियारी थापा र खिमविक्रम शाही तथा राजमोका केन्द्रीय सदस्य राजेन्द्र ढुंगाना, राजमो नेता गौरीश्वर पाण्डेले शुभकामना दिनुभएको थियो भने निर्वाचित जनप्रतिनिधिको तर्फबाट काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा र बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पनि प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।
राजमोले जनप्रतिनिधिलाई वर्तमान राज्यव्यस्था अन्तर्गतको निर्वाचनलाई साध्य नठान्न सचेत गराएको छ । नेता कृष्ण अधिकारीले प्रशिक्षण दिँदै यो व्यवस्था अन्तर्गत हुने निर्वाचन अन्य दलका लागि साध्य भएपनि हाम्रो लागि अस्थायी हो, साधन मात्रै हो भन्ने कुरामा जहिले पनि सचेत हुनुपर्ने बताउनुभएको थियो ।
बागलुङमा राष्ट्रिय जनमोर्चाका ७६ जना स्थानीय जनप्रतिनिधिले चुनाव जितेका थिए ।