काठमाडौं । काठमाडौंको कपन, बालुवाखानीस्थित फेरिल्याण्ड इन्टरनेसनल स्कुलको संयोजनमा चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ ।
अर्गनाइजेसन्स अफ प्राइभेट स्कुल (ओपीएस) को आयोजना तथा फेरिल्याण्ड स्कुलको संयोजनमा शनिबार सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका सिनियर र जुनियर गरी ५३ विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगितामा सिनियरतर्फ ‘माइ कल्चर माइ हेरिटेज’ विषयमा २८ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए भने जुनियरतर्फ ‘नेचुरल इन्भाइरोन्मेन्ट’ शिर्षकमा २५ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
बूढानीलकण्ठ नगरपालिका–१० का वडा अध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राध्यापक राधेश्याम मुल्मीसहितको निर्णायक समितिले मूल्यांकन गरेको थियो ।

प्रतियोगितामा सिनियरतर्फ प्रथम स्थान कौशल इंग्लिश स्कूलकी युनिशा मल्लले प्राप्त गरेकी छिन् । यस्तै, दित्तीय स्थान शृजना ज्ञान सागरका निशान लामाले हात पार्न सफल भए भने तृत्तीय सोही विद्यालयकी रोजमिता गुरुङ भइन् । न्यू इरा एकेडेमीका निरव रायमाझी तथा शोभा भगवती इंग्लिश स्कूलको सकिरा श्रेष्ठलदे सान्त्वना पुरस्कार पाए ।
यसैगरी जुनियरतर्फ प्रारम्भ वर्ल्ड स्कुलकी मैशमी तामाङले प्रथम स्थान हासिल गर्न सफल भइन् । ज्ञान मन्दिर स्कुलका साइमन थापा दित्तीय र शृजना ज्ञान सागरका शृजल दाहालले तृतीय स्थान हासिल गरे । यस्तै, कौशल इंग्लिश स्कुलकी नम्रता राई तथा प्रारम्भ वर्ल्ड स्कूलका आयनस ज्ञवालीले सान्त्वना पुरस्कार जित्न सफल भए ।

कार्यक्रममा फेरिल्याण्ड इन्टरनेसनल स्कूलका संस्थापक प्रिन्सिपल तथा ओपीएसका सल्लाहकार विष्णुचन्द्र अधिकारी ‘ओपीएस इन्टर स्कुल आर्ट कम्पिटिसन’ को बारेमा प्रकाश पार्दै ओपीएसले विगत १७/१८ वर्षयता गरेका राष्ट्रिय तथा अन्य विविध कार्यक्रमबारे जानकारी गराउनु भयो ।
साथै, उहाँले शिक्षक शिक्षिकाहरु तथा विद्यार्थी केन्द्रित विविध कार्यक्रमहरु गर्दै सम्पूर्ण ओपीएसमा आवाद्ध विद्यालयहरुको विविध पक्षलाई समेट्दै विश्व बजारमा आजका बालबालिकालाई प्रतिष्पर्धी बनाउने उद्देश्यका साथ अगाडि बढेको स्पष्ट पार्नुभयो ।

यस्तै, निर्णायक प्राध्यापक राधेश्यम मुल्मीले चित्रकलाले बालबालिकाहरूलाई सिर्जनात्मक कार्य गर्न प्रेरणा मिल्ने बताउँदै विद्यार्थी भाई बहिनीहरूलाई अझ जोसजाँगरका साथ जित–हारलाई मात्र ध्यान नदिई लगनशील भई अगाडि बढ्न आग्रह गर्नुभयो ।
उक्त कार्यक्रम फेरिल्याण्ड इन्टरनेसनल स्कूलका निर्देशक विनोद अधिकारीले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य विद्यालयकै निर्देशक राम प्रसाद गौतमले गर्नु भएको थियो।
साथमा विद्यालयका भाई बहिनीहरुले विविध संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथी बूढानीलकण्ठ नगरपालिका–१० का वडाअध्यक्ष नवराज भट्टराईले विद्यालयमा अध्ययनरत कलिला भाइ बहिनीहरूलाई सानै उमेरदेखि विविध विधामा प्रशिक्षण दिनु पर्ने बताउँदै विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नमा निजी विद्यालयको विशेष भूमिका रही आएकोमा जोड दिनुभयो ।