काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरुले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाव दिएका छन् ।
बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रिय सविचवालयको २७ औँ बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाव दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधवार र बिहीवार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रवार हुने पोलिटब्यूरो, शनिवार हुने केन्द्रिय कमिटी र असार १३ र १४ गते हुने केन्द्रिय परिषद्कोको बैठकका एजेण्डाका बारेमा छलफल गरेको बताउनु भयो । उहाँले उक्त बैठकमा पार्टी अध्यक्ष नेपालले प्रश्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको बताउनु भयो ।
उपमहासचिव तुलाधरले भन्नुभयो, ‘सचिवालयको २६ औँ बैठकले निर्णय गरेर स्थायी कमिटीको १२ औँ बैकठले अनुमोदन गरेको मन्त्री हेरफेर सम्बन्धी निर्णयमाथि पनि छलफल भएको छ । बैठकमा अधिकांश नेताहरुले स्थायी कमिटी र सचिवालयले गरेका निर्णय लागू हुँदैन भनेर प्रश्न गर्नुभयो । नेताहरुले पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गरेर छिटो भन्दा छिटो मन्त्रीमण्डल हेरफेरको कार्यान्वयन गर्न आग्रह गर्नुपर्छ भन्ने कुराहरु भएका छन् ।
गठबन्धनको गन्तव्य अझै नसकिएकोले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पनि कायम गरेर जानुपर्छ भन्ने कुरा भयो ।’
उपमहासचिव तुलाधरले पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदहरुले त्यसले पार्टीका कार्यकर्ताहरुमा नराम्रो सन्देश गएकोप्रति ध्यानाकर्षण गराएको पनि बताउनु भयो ।
उहाँले गठबन्धनको औचित्य नसकिएकोले आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्नेमा छलफल भएकोसमेत बताउनु भयो ।