काठमाडौं । सांसदहरुले बलात्कारको घटनामा कडा भन्दा कडा कानून बनाउनुपर्नेमा जोड दिएका छन् । बुधबार प्रतिनिधि
सभा अन्र्तगतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय नपाउने गरेको उल्लेख गर्दै कडाभन्दा कडा कानूनी व्यवस्था हुनुपर्ने बताएका हुन् ।
समिति बैठकमा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथि संशोधन हाल्ने सांसदहरुले बलात्कारको घटनामा कानूनी दायरालाई कडाइ गर्नुपर्ने बताएका हुन् ।
नेकपा(माओवादी केन्द्र) की सांसद पूर्णकुमारी सुवेदीले दश वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने बताउनुभयो । उहाँले त्यसो गर्न नसकेको खण्डमा सजाय र जरिवानलाई निकै कडा बनाउनुपर्ने बताउनुभयो । उहाँले कानून बनाएपनि कार्यान्वयन फितलो हुने गरेको उल्लेख गर्दै कानून कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो – ‘कानून बनाउँछौ, कार्यान्वयन फितलो हुने गरेको छ । दश वर्षभन्दा तलको बालिकाको हकमा बालिकाहरुलाई जर्बजस्त बलात्कार गर्नेहरुलाई त मृत्युदण्ड दिनुपर्छ । मेरो व्यक्तिगत विचार । यो विषयमा कडा भन्दा कडा कानून हुनुपर्छ । कैद र जरिवाना दुवै राख्नुपर्छ । कडाभन्दा कडा सजाय र जरिवाना गरेर नै जानुपर्छ ।’
यस्तै, सांसदहरुले बलात्कार मुद्दामा उजुरी दिने हदम्याद हटाउन तथा बलात्कारीलाई श्रम शिविरमा राख्न माग गरेका छन् ।