काठमाडौं । अफगानिस्तानमा एउटा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाको ज्यान गएको र कैयौँ घाइते भएको बताइएको छ।
सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिन्छन्।
प्रारम्भिक जानकारीमा १५० जनाभन्दा बढी घाइते भएको विवरण आएको एक अधिकारीले बताएका छन् ।
भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ।
मध्यरातपछि भूकम्प आउँदा धेरै मानिसहरू सुतिरहेका थिए।
अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर गएको थियो।
केन्द्रबिन्दुभन्दा ५०० किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बीबीसीले जनाएको छ ।
अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ।
प्रत्यक्षदर्शीहरूले जनाएअनुसार अफगान राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भूकम्पको धक्का पुगेको थियो।