काठमाडौं । सिभिल सहकारीको रकम हिनामिना प्रकरणका आरोपी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले दुई करोड रुपैयाँको डिल गरेको खुलासा भएको छ ।
न्यायाधिश कोइराला र तामाङको पक्षमा बहस गरेका वकिल अधिवक्ता रुद्र प्रसाद पोख्रेलबीचको अडियो रेकर्ड सार्वजनिक भएको छ ।
८ अर्ब भन्दा बढी रकम ठगेका पुर्व एमाले सांसद इच्छाराज तामाङ हाल हिरासतमा छन् । उनलाई धरौटीमा रिहा गराउन न्यायाधीश कोइराला र अधिवक्ता पोख्रेलबीच भएको डिल न्युज २४ ले सार्वजनिक गरेको हो ।
१० करोड रुपैयाँ धरौटी लिएर तामाङलाई रिहा गर्ने योजना बनाइएको सो अडिओमा सुन्न सकिन्छ । वकिल पोख्रेल र न्यायाधीश राजकुमार कोइरालाबीच भएको गोप्य सम्वादमा १० करोड धरौटी मागेर तामाङलाई रिहा गर्ने र यो काम गरेबापत २ करोड लिने डिल अडियो रेकर्डमा सुनिएको छ ।
इच्छाराज तामाङलाई ठगी र संगठित अपराध कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ७८ असोज १८ गते पक्राउ गरेको थियो । अहिले तामाङ र उनका सहयोगी अर्थात सिभिल सहकारीका वर्तमान अध्यक्ष केशव लाल श्रेष्ठ डिल्ली बजार जेलमा छन् ।
तत्कालिन बारका कोषाध्यक्ष रहेका अधिवक्ता रुद्रप्रसाद पोखरेलले ओलीले संसद विघटन गर्दा विज्ञप्ति निकालेर समर्थन गरेका थिए ।