काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दैनिक जस्तो भएका दुर्घटनाबाट सर्वसाधारणले ज्यान गुमाउनुपरेको प्रति दुःख प्रकट गर्नुभएको छ । सोमबार एक विज्ञप्ति प्रकासित गरी अध्यक्ष केसीले मंसिर २९ गते सिन्धुपाल्चोकमा भएको दुर्घटनाप्रति दुःख प्रकट गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
दैनिक जस्तो भइरहेका दुर्घटनाबाट सर्वसाधारणले अकालमा ज्यान गुमाइरहँदा सम्बन्धित निकाय गम्भीर नबनेको प्रति अध्यक्ष केसीले विरोध गर्नुभएको छ । त्यसखालका दुर्घटना हुन नदिन यातायात क्षेत्रमा ब्यापक सुधार र सुरक्षाको व्यवस्था मिलाउन पनि केसीको माग छ।
वक्तव्यमा भनिएको छ,
“गत मंसिर २९ गते दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ स्वाँरा ६ किलो भन्ने ठाउँमा दुर्घटना हुँदा १५ जना मानिसको मृत्यु भएको र १७ जना घाइते भएको खबरले हामीलाई धेरै दुःख लागेको छ । मृतकजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । मृतकका परिवार तथा उक्त मृत्युबाट दुःखी हुनुभएकाहरुप्रति समवेदना प्रकट गर्दछौँ । घाइतेहरुको उपचारको राम्रो व्यवस्था गर्न राज्यको सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराउँदछौँ ।
नेपालमा बारम्बार यसरी सवारी दुर्घटना हुँदा धेरै मानिसहरुको ज्यान जाने गरेको छ । सडक, सवारी साधन वा चालकका कारणले नै त्यस प्रकारको दुर्घटना हुने गर्दछ । स्तरहिन सडकहरु छन् । पुराना र राम्रो अवस्था नभएका सवारी साधनहरु प्रयोग भइरहेका छन् । चालकका लापरबाही वा उनीहरुका कमजोरीका कारणले पनि बढी दुर्घटना हुने गर्दछ । यातायातसँग सम्बन्धित निकाय वा प्रहरीले पनि यति धेरै दुर्घटना बढेको अवस्थामा सुधार गर्ने तर्फ ध्यान दिएको पाईदैन । हामीले बारम्बार सरकार र सम्बन्धित पक्षहरुको ध्यान आकर्षण गराएका छौं । तैपनि सम्बन्धित पक्षको ध्यान नगएकोमा हाम्रो पार्टीले त्यसको तीव्र विरोध र भत्र्सना गर्दछ । अब त्यसप्रकारको दुर्घटना हुन नदिन सम्बन्धित क्षेत्रमा व्यापक सुधार र सुरक्षाको व्यवस्था मिलाउन हामीले सरकारसंग जोंडदार माग गर्दछौं ।”