काठमाडौं । सरकारले विवादित अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने गरी अमेरिकालाई पत्र लेख्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विवरणसहित अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको हो।
नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो ।
जेठ अन्तिम अमेरिका सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चार्ल्स ए फ्लिनले नेपाल भ्रमण गरेपछि एसपीपी सम्झौता अझ विवादित बनेको थियो।
फ्लिनले एसपीपीलाई प्रधानसेनापति शर्माको आसन्न अमेरिका भ्रमणमै अघि बढाउने गरी सम्झौता गर्नुपर्ने कुरा नेपाल भ्रमणका क्रममा राखेका थिए।
अमेरिकी सैन्य गठबन्धनमा नेपाल सामेल हुनेगरी एसपीपी सम्झौता गर्ने तयारी भएको सार्वजनिक भएसँगै त्यसले ठूलो तरंग ल्याएको थियो ।
छिमेकी मित्रराष्ट्र चीनलेसमेत नेपाललाई शंकाको दृष्टिले हेरेको थियो । चौतर्फी दबाब र विरोधपछि सरकार एसपीपीबाट अलग हुने निर्णयमा पुगेको हो ।