काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्पद माक्तुम जुपा ला माक्तुमले नेपाल ल्याएको ‘सुनको लौरो’ बारे त्रिभुवन विमानस्थल प्रशासन बेखबर बनेको पाइएको छ ।
शनिबार नेपाल आएका युएईका राजकुमार माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई उक्त ‘सुनको लौरो’ उपहार दिएका हुन् ।
धेरैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी सुनको लौरो भित्रियो भन्ने प्रश्न गर्नेका छन् । राजकुमार जुपाले सुनको लौरो ल्याएकोबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अनभिज्ञ देखिएको छ ।
सर्वसाधारणले सुनको एउटा औँठी वा सिक्रि लगाएर आउँदासमेत पक्राउ गर्ने विमानस्थल प्रशासनले सुनकै लौरी ल्याउँदा किन बेखर रह्यो भन्ने प्रश्न सामाजिक सञ्जालमा गरिएको छ ।
भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहेपनि मापदण्ड विपरीतका वस्तु ओसारपसार गर्न नपाउने भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईको भनाई छ । भट्टराईका अनुसार ‘भीभीआईपी आफैँ जिम्मेवार व्यक्ति हुने भएकाले’ चेक/जाँचमा सामान्य यात्रुसरह कडाइ हुँदैन ।
प्रसाईँको निमन्त्रणामा राजकुमार जुपा नेपाल आएका हुन् । शनिबार बिहान ८ः३० बजे फ्लाई दुबई–५७१ को विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
राजकुमार जुमा कूटनीतिक पासपोर्टसहित अन्य पाँच जना सहयोगीसाथ साधारण यात्रुका रूपमा नेपाल आएको बताइएको छ । उनी अन्तर्राष्ट्रिय टर्मिनलको अति विशिष्ट कक्ष हुँदै आन्तरिक उडानमार्फत झापाको चन्द्रगढी विमानस्थल प्रस्थान गरेका थिए । उनले त्यहाँ पूर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटिस्क्यान उद्घाटन गरे ।