काठमाडौँ । प्रगतिशील लेखक सङ्घको पचपन्नौँ परिसंवाद २०७९ असार ३ गते शुक्रबार बागबजार काठमाडौँमा सम्पन्न भएको छ । सङ्घका अध्यक्ष डा. मधुसुदन गिरी प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा प्रमुख वक्ता डा. खगेन्द्र प्रसाईं हुनुहुन्थ्यो ।
“ऐतिहासिक भौतिकवादी दृष्टिमा नेपाली समाज” शीर्षकको सो कार्यक्रममा बोल्दै दार्शनिक खगेन्द्र प्रसाईंले ‘अहिलेको मानव समाजको सम्पूर्ण पक्ष, राजनीति, समाज, कृषिलगायत मानिसका हरेक व्यावहारिक गतिविधि र उनीहरूका सोचाइ पुँजीवादी प्रणालीको अधिनस्थ हुँदै गएको’ बताउनुभएको थियो ।
मजदुर, किसानको सङ्गठन र उनीहरूको भूमिका कमजोर हुँदै जाँदा वित्तीय पुँजीवादले आफ्नो पकड मजबुत बनाउँदै गएको उहाँको तर्क थियो ।
जातिवादी, नारीवादी, क्षेत्रीयतावादी नारा र आन्दोलनले वर्गीय आन्दोलन कमजोर हुँदै जाँदा विश्व स्तरमै क्रान्तिकारी आन्दोलन कमजोर हुँदै गएको उहाँको धारणा थियो ।
कार्यक्रम संयोजक समीर सिंहको अध्यक्षता तथा महासचिव डा. देवी दुलालको सञ्चालनमा अगाडि बढेको थियो भने विषयवस्तुमाथि विष्णु प्रभात, प्रा.डा. देवीप्रसाद गौतम, गोपाल ठाकुर, मातृका पोखरेललगायतले टिप्पणी गर्नुभएको थियो ।

