काठमाडौं । नेकपा (एमाले) का सांसद भीम रावलले संसदबाट एमसीसी सम्झौतालाई १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेर सो घोषणालाई सम्झौताको अंग बनाइएको भनिएपनि अंग बनेको पत्र नआएको बताउनुभयो ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले सो पत्रको बारेमा प्रतिनिधि सभालाई जानकारी गराउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो –‘हामीले १२ बुँदे व्याख्यात्मक घोषणा गरेका छौँ । त्यो व्याख्यात्मक घोषणा त्यो सम्झौताको अंग भएको छ । तर त्यसको अंग भएको पत्र खोई : यो जनताप्रति उत्तरदायी व्यवस्था हो कि होइन : हामी प्रतिनिधि सभाका सदस्यलाई त्यो जानकारी गराउनु पर्छ कि पर्दैन : देशव्यापी रुपमा त्यो सबभन्दा बढी बहश भएको विषय हो कि होइन : तर सरकार बेखबर छ, मानौँ यसबारे देशमा केही भएकै छैन । यो कुनै उत्तरदायि व्यवस्था हो र : यति अनुत्तरदायि, यति जनतालाई जवाफ दिनु नपर्ने, जनतालाई जानकारी गराउनु नपर्ने, यो जिम्मेवार सदनलाई जानकारी गराउनु नपर्ने यस्तो तरिकाले हामी अर्थतन्त्रका चुनौतीलाई सामना गर्छौ भन्नेकुरा कसैले पनि पत्याउन सक्दैन ।’
उहाँले सरकार संसदप्रति अनुत्तरदायि भएको बताउनुभयो । संसदप्रति सरकार अनुत्तरदायि भएर अर्थतन्त्रका चुनौतीहरुलाई सामना गर्न नसकिने सांसद रावलले बताउनुभयो ।