काठमाडौं । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतवार पनि दिने गरिएको बिदा खारेज गर्ने निर्णय लिएको हो।
असार १ गतेबाट लागु हुने गरी आइतबारको सार्वजनिक बिदा हटाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
यसअघि पेट्रोलियम पदार्थमा रहेको अर्बौं घाटा कम गर्ने भन्दै सरकारले गत जेठ १ गतेदेखि लागु हुने आइतवार पनि सार्वजनिक बिदाको निर्णय लिएको थियो।
तर सरकारको उक्त निर्णय चौतर्फी विरोध र अवज्ञा सुरु भएको थियो। देशका कयौँ स्थानीय तहले आइतवार बिदा दिने निर्णय अवज्ञा गर्दै विद्यालय लगाउन थालेका थिए।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सोमबार मात्रै सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन दर्ता भएका थिए।
सरकारले हचुवाको भरमा दुई दिन बिदाको घोषणा गरेको भन्दै यसलाई रोक लगाउन रिटमा माग गरिएको थियो। अधिवक्ताहरू रामबहादुर शाही, सन्तोष भण्डारी, तेजकुमार लोहनी र त्रिलोकबहादुर चन्दले सोमबार सर्वोच्चमा रिट दर्ता गरेका थिए।
प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा
सरकारले नेपाल प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले बढुवा समितिको सिफारिसमा परेका ५ डीआईजीलाई बढुवा गर्ने निर्णय गरेको हो।
डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंह एआईजीमा बढुवा भएका हुन्। ५ डीआईजी एआईजीमा बढुवा भएसँगै रिक्त डीआईजीको संख्या १७ पुगेको छ। नेपाल प्हरीमा हाल ३ जना मात्रै डीआईजी कार्यरत छन्।
जेठ ९ गते बसेको बढुवा समितिको बैठकले ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
सिपी गौतम सशस्त्रको एआईजीमा बढुवा
सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्र प्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। मन्त्रिपरिषद बैठकले गौतमलाई रिक्त एक एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
राजु अर्याल आईजीपीमा बढुवा र अर्का एआईजी रामशरण पौडेल अनिवार्य अवकासमा गएपछि वैशाख १९ गतेबाट २ एआईजी रिक्त भएको थियो।